महेन्द्रनगर : प्रधामन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्त र बैतडीकी भागरथी भट्टका हत्यारालाई पानी मुनि गएपनि नछोड्ने बताएका छन । शनिबार वुटवलमा आयोजित ओली समुहको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले विश्वको जुनसुकै कुनामा गएर बसेपनि हत्यारालाई कार्बाही गरिछाड्ने बताएका हुन ।
“सरकारको बदनाम गर्न केही अपराधीहरु क्रियाशील भएको देखीन्छ।” प्रधानमन्त्री ओलीले भने–“निर्मला हत्याकाण्ड र भागरथी हत्याकाण्डका अपराधीहरुलाई पानीमुनि गएपनि छोडिनेछैन ।” उनले अपराधीलाई उम्कन नदिने बताए । “एकदुई दिन लुकेर बस्लान एक वर्ष डरले थर्कमानको जिन्दगी बिताएपनि सजाय घट्नेबाला छैन पुराका पुरा सजाय गराएर छाड्नेछौ ।” उनले भने । केही समय भित्रै बैतडीकी भागरथी र निर्मला पन्तका हत्यारा कठघरामा ल्याएर कार्बाहीको दायरामा ल्याउने उनले दाबी गरे । “पहिले ईटाभट्टमा मान्छे जलाएर मिलेमतोमा मन्त्री बनाएका अपराधीहरुलाई हामीले झेलमा हालेका छौ ।” उनले थपे–“१२ वर्ष अगाडीका अपराधीलाई जेलमा हालेका छौ अहिलेका अपराधीलाई पनि छोडिने छैन ।” त्यसैगरी उनले सरकारी जग्गा हडप्नेहरुलाई समेत सरकारले कानुनी कठघरामा ल्याई छाड्ने दाबी गरे । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ उल्टाखामकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुईवर्ष बितिसक्दा समेत अपराधी पत्ता लागेको छैन। बैतडीको दोगडाकेदारकी भागरथी भट्टको समेत बलात्कारपछि हत्या भएको १० दिन बितिसक्दा समेत हत्याराको सुराक लाग्न सकेको छैन भने १० दिनदेखी शव अस्पतालमै छ ।