काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

बिहीबार बिहान महानगरीय अपराध महाशाखाको टोली झाँक्रीको निवासमा पुगेको थियो। उनले दिएको अभिव्यक्तिका सन्दर्भमा सोधपुछ गर्न प्रहरीले कार्यालयमा बोलाइएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए। तर, झाँक्री हाजिर नभएपछि प्रहरी उनलाई पक्राउ गर्न घरमै पुगेको थापाले बताए।प्रहरीले नियन्त्रणमा लिनु अगाडि उनले प्रतिगमनको विरुद्ध र लोकतन्त्रका लागि लडिरहँदा अभिव्यक्त गरेको आधारमा पक्राउ पूर्जी गरेको जानकारी दिइन्। उनले कानुनको पालना गर्दै आफूले गिरफ्तारी दिएको बताइन्। उनले राज्यको कानून पालना गर्न आएका प्रहरीमाथि कुनै अमर्यादित व्यवहार भएको भए क्षमा दिन आग्रह गरिन्। उनलाई राज्यविरुद्धका कसुर अन्तर्गत दफा ५८ कसुरमा पक्राउ गरेको हो।