महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी नाकामा सहज रुपमा आवागमन नभए कञ्चनपुरको व्यापार व्यवसाय ठप्प पार्ने यहाँका व्यवसायीहरुले चेतावनी दिएका छन ।
बिहिबार कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्वमा बसेको व्यवसायीहरुको संघ संस्थाको भेलाले सरकारले गड्डाचौकी नाकामा सहज आवागमन नबनाए ससंक्त प्रतिकारमा उत्रिने चेतावनी दिएका हुन । व्यवासायीहरुको संगठन कञ्चनपुर उद्योग वाणिज्य संघ,होटेल व्यवसायी संघ कञ्चनपुर,महाकाली यातायात प्राली,औषधी व्यवसायी संघ,नमस्ते शुक्लाफाँटा यातायात प्राली,पवनदुत यातायात,सुनौलो यातायात प्राली लगायतका संघ संस्थाको भेलाले स्थानीय प्रशासन संग पटक पटक नाका खुलाउन आग्रह गर्दा समेत वेवास्ता गरेको बताउँदै अब ससंक्त प्रतिकार गर्ने चेतावनी दिएका छन ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लले कोरोनाका कारण ११ महिनादेखी बन्द भएको नाकामा दुईपक्षिय सहज आवागमन नहुँदा समस्या भइरहेको बताए । उनले गृहमन्त्रालयले नाका खोल्ने निर्णय गरेपनि स्थानीय प्रशासनले आधिकारीक रुपमा नाका नखोलेको बताए । उनले स्थानीय प्रशासन संग पटक पटक आग्रह गर्दा समेत वेवास्ता गरेको बताउँदै अब प्रतिकारमा उत्रिने चेतावनी दिए । त्यसैगरी कञ्चनपुर होटेल व्यवसायी संघका अध्यक्ष जगदिश भट्टले सरकारले नाका खोल्ने निर्णय गरेपनि स्थानीय प्रशासनले वेवास्ता गरेको बताए । उनले नाकामा सहज आवागमन नहुँदा स्थानीय अर्थतन्त्र धरासायी भएको बताए । कोरोना जोखिम कम भएको बताउँदै नाकामा सहज आवागमन नहुँदा बाह्य पर्यटक समेत प्रभावित भएको बताए ।
त्यसैगरी माहाकाली यातायात प्रालीका अध्यक्ष डम्बर पन्तले सरकारले आधीकारीक रुपमा नाका खोल्ने निर्णय गरेपनि कञ्चनपुरको गड्डाचौकी नाका खोल्न आनाकानी भइरहेको बताउँदै कञ्चनपुरको व्यापार व्यवसाय ठप्प पार्ने चेतावनी दिए । उनले सरकारले नाकामा सहज आवागमन नभए आन्दोलनमा उत्रिनुपर्ने बताए ।