खयरका बुट्यान भएको झाडी, २०६५ सालताका यही हो मेडिकल कलेज बन्ने स्थान भनेपछि मानिसहरू पत्याउथेनन्। सामुदायिक वनमा मेडिकल कलेज बन्ने रे ? अधिकांशको प्रश्न हुन्थ्यो। 

तर अहिले कैलालीको गोदावरी नगरपालिका—५ मा रहेको सहिद संघारी सामुदायिक वन क्षेत्रमा दुई दर्जनभन्दा बढी भवनहरू रंगरोगन लगाएर चिटिक्क पारिएका छन्। उपकरण र भित्रको फर्निसिङको कामबाहेक बाहिरबाट हेर्दा गेटा आँखा अस्पतालको पूर्वको सो क्षेत्र रौनकदार छ। २०६५ सालदेखि सरकारी स्वामित्वको मेडिकल कलेज बनाउने चर्चा चलेसँगै जग्गाको भोगाधिकार पाइएपछि २०६८ सालमा मन्त्रिपरिषद्को गठनादेशले मेडिकल कलेज पूर्वाधार विकास समिति गठन भयो। आर्थिक वर्ष २०७०÷७१ देखि त भवनहरूको निर्माण नै सुरु भएर अन्तिम चरणमा पुगेको छ।

सरकारी स्वामित्वको मेडिकल कलेज हुने वा पूर्ण स्वायत्तता भएको स्वास्थ्य विज्ञान प्रतिष्ठान हुने भन्ने विषयमा अझै टुंगो नलागेपछि २०७९ सालदेखि एमबीबीएसको पढाइ सुरु हुने गरी तयारी भइरहेको छ।  पछिल्ला ६ वर्षमा ६ सय शय्याको अस्पताल भवन,  एमबीबीएसका लागि कलेज भवन, विद्यार्थीका लागि चारतले दुई वटा छात्रावास भवन, प्रोफेसर र चिकित्सकहरूका लागि आवास भवनहरू, नर्सिङ स्टापका लागि आवासहरू, प्रशानिक भवन गरी २२ वटाभन्दा बढी भवनहरूको निर्माणकार्य अन्तिम चरणमा पुगेको मेडिकल कलेज पूर्वाधार निर्माण समितिले जनाएको छ।

एक दशकअघि बनाइएको गुरुयोजनाअनुसार गेटा मेडिकल कलेजको निर्माणका लागि ७ अर्ब ३३ करोडको लागत अनुमान गरिएको थियो। अहिलेसम्म ३ अर्ब ५४ करोड रकमको पूर्वाधारहरू बनिसकेका छन्। मेडिकल कलेज पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले, कलेज भवनको निर्माण सकिएको बताए।

‘कलेज भवनको निर्माण सकिएको छ, अस्पताल भवनको निर्माण ९५ प्रतिशत सकिएको छ। प्रोफेसरका आवास, नर्सिङ स्टाफहरूका आवास, छात्रावासहरूको काम ७० प्रतिशतदेखि ८५ प्रतिशतसम्म सकिएको छ’ कार्यकारी निर्देशक साउदले भने।क्यान्टिन र शव गृहको पनि निर्माण अन्तिम चरणमा पुगेको छ। अस्पतालका लागि उपकरण, कलेज भवनका लागि फर्निसिङको काम मात्रै बाँकी छ। ‘अबको एक वर्षमा त्यो पनि सकिन्छ’ कार्यकारी निर्देशक साउदले भने।

मेडिकल कलेज बन्ने वा प्रतिष्ठान बन्ने भन्ने विषयको टुंगो लगिसकेको भए २०७८ सालको शैक्षिक सत्रदेखि एमबीबीएसको पढाइ सुरु गर्ने लक्ष्य थियो तर त्यसको टुंगो भने लागि सकेको छैन। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानअन्तर्गत सञ्चालन गर्ने भनेर विधेयक बनाएर मन्त्रिपरिषद्मा पेस गरिसकेको छ। तर सुदूरपश्चिमका राजनीतिज्ञ र बौद्धिक वर्गले त्यसमा असन्तुष्टि जनाएका छन्।सुर्खेत, बुटबल, बर्दिबास र गेटामा एकै प्रतिष्ठान बनाएर मेडिकल कलेज सञ्चालन गर्ने तयारी भइरहेका बेला त्यसमा यस क्षेत्रका राजनीतिज्ञ र बौद्धिक वर्गले सहमति जनाएका छैनन्। ‘चार वटै मेडिकल कलेजलाई एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान बनाइने हो भने भोलि एमबीबीएसपछि एमडीसहितका संकाय सञ्चालनमा पनि अनुमति लिनुपर्ने झन्झट भएकाले, धेरैको भनाइ स्वायत्त प्रतिष्ठान हुनुपर्ने रहेको छ’ कार्यकारी निर्देशक साउदले भने।

यस क्षेत्रमा सहिद दशरथ चन्दका नामबाट पूर्ण स्वायत्त रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने माग उठ्दै आएको छ। तर मेडिकल कलेज वा प्रतिष्ठान जे बने पनि, हरेक वर्ष एक सय जना चिकित्सक उत्पादन हुनेछन्। ‘हरेक वर्ष नेपालीलाई सरकारी शुल्कमा र केही कोटा भारत लक्षित गरेर पनि राख्न सकिन्छ, अहिले त्यो छलफलकै चरणमा छ’ कार्यकारी निर्देशक साउदले भने। उनले कोभिडका कारण पनि एमबीबीएसको भर्नामा केही ढिलाइ भएको बताए। ‘हामीले एक सय जनाको कोटामा चालू आर्थिक वर्षदेखि नै भर्ना लिने सोच बनाएका थियौं, तर कोभिडले पनि केही ढिलाइ भयो, त्योभन्दा पनि मेडिकल कलेज हुने वा प्रतिष्ठान हुने भन्ने विषयको टुंगो पनि लागेन, अनि अन्योलता भयो’ उनले भने।

मन्त्रिपरिषद्ले यससम्बन्धी विधेयकलाई स्वीकृति दिएर संसद्ले पास गरे मात्रै मेडिकल कलेज वा प्रतिष्ठानको टुंगो लाग्छ। ‘तर अहिले त अब संसद् पनि छैन, अर्को संसद् बन्न समय लाग्ला जस्तो छ, सरकारले अध्यादेश ल्याएर भए पनि टुंगो लगाउनुपर्छ’ कार्यकारी निर्देशक साउदले भने। मेडिकल कलेज सञ्चालन गर्नका लागि भौतिक संरचना बनिसकेका छन्, अब त्यसमा पानी, बिजुली, फोहोरमैला व्यवस्थापन र उपकरणको आपूर्ति मात्रै बाँकी छ। कलेज भवनदेखि अस्पताल भवन जोड्नका लागि आकाशेपुल पनि बन्ने चरणमा छ। (साभार अन्नपूर्णपोष्ट)