महेन्द्रनगर :कञ्चनपुर प्रहरीले लामो समयदेखि लुकिछिपी नेपालमा लागूऔषध भित्र्याउने गिरोहका नाइके भारतीय युवकलाई मंगलबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले प्रहरी टोलीले जाँच गर्दा भारतको पिलिभित जिल्ला बम्मनपुर पधिरत शारदा बस्ने ३२ बर्षीय सुच्चा सिंहलाई विशेष सुचनाका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँले अभियुक्त भारतीय नागरिक सिंहलाई यहाँको बेलौरी नगरपालिका–६ सुतियाबाट शंका लागेर जाँच गर्दा २० ग्राम ८० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको बताउनुभयो ।

“ प्रारम्भिक अनुसन्धानले भारतीय नागरिक सिंह सीमा क्षेत्रमा लागूऔषध सप्लाई गर्ने मुख्य व्यक्ति भएको देखिन्छ ।” प्रहरी उपरीक्षक चर्तुवेदीले भन्नुभयो–“ घटनाबारे सुक्ष्म रुपमा अनुसन्धान हुदैछ ।” खैरोहिरोइन नेपाल पु¥याउने आएको मौकामा इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कमलकुमार खड्काको नेतृत्वमा खटिएको टोलीले सिंहलाई पक्राउ गरेको हो । केहीदिन अघि पनि बेलौरी क्षेत्रबाट प्रहरीले ठुलो मात्रामा खैरोहिरोइन र ब्राउनसुगरसहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कञ्चनपुर प्रहरीको नेतृत्व सम्हालेसंगै प्रहरी उपरीक्षक चर्तुवेदीले यहाँ लागूपदार्थ न्युनीकरणमा सक्रियता देखाएसंगै एकपछि अर्को सफलता मिल्दै गएको छ ।