कैलाली कञ्चनपुरका चार शहरमा मेट्रिक एडे्रसिङ सिस्टम लागु भएको छ । शहरी व्यवस्थापनका विभिन्न तत्वहरूमध्ये ठेगाना प्रणाली एउटा महत्वपूणर् पक्ष हो जसलाई आम रूपमा ‘घर नम्बर’ भनेर बुझ्ने गरिन्छ । यसले शहरवासीलाई सरकारका निकायहरू र अन्य विभिन्न सेवाप्रदायकले प्रदान गर्ने सेवा सुविधा सहज बनाउनसँग प्रत्यक्ष सरोकार राख्छ । सेवाप्रदायक र उपभोक्ता (घर परिवार) दुवै पक्षलाई यसले सेवा प्रदान तथा ग्रहण प्रभावकारी बनाउन सहयोग गर्दछ । मेट्रिक एड्रेसिङ सिस्टम (मेट्रिक ठेगाना प्रणाली) कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका तथा कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकाभित्र लागू गरिएको हो ।

हरेक घरधनीलाई अपनत्वसहितको आफ्नो पहिचान दिने यो ठेगाना प्रणालीले सेवाप्रवाह, राजस्व संकलन, सामाजिक सम्पर्क इत्यादिलाई सहज बनाउनले अपेक्षा गरिएको छ । एसियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण लगानीमा क्षेत्रीय सहरी विकास आयोजना धनगढीले कैलालीको धनगढी उपमहानगरा, गोदावरी नगरपालिका (अत्तरिया), कञ्चनपुरका भीमदत्त र शुक्लाफाँटा नगरपालिकाभित्र करिव एक लाख घरधुरीमा मेट्रिक ठेगाना प्रणाली लागू गरिसकेको छ । प्रदेशमा पहिलो पटक मेट्रिक प्रणाली अवलम्बन गरिएको प्राविधिक विज्ञ उमेश कुँवरले बताए । ‘सुरुमा हामीले सम्पूणर् बाटोको नाम संकलन गर्‍यौं,’ कुँवरले भने, ‘सम्बन्धित वडाअध्यक्षको संयोजकत्वमा चलनचल्तीमा रहेको बाटोको नामकरणसँगै घर, विद्यालय, व्यावसायिक आवास, निजी तथा सार्वजनिक भवन र मानव प्रयोजनका लागि निर्मित सम्पूणर् घरको मेट्रिक प्रणालीअनुसार नम्बरिङ कार्य सम्पन्न भयो ।’

मेट्रिक ठेगाना प्रणालीअन्तर्गत सम्बन्धित नगरपालिकाभित्रका मुुख्य सडकलाई कोडिङ गरिएको छ । कोडिङपछि ती सडकको एउटा-एउटा प्रवेश बिन्दुु र अन्तिम बिन्दुु लिइएको छ । प्रवेश बिन्दुुबाट प्रत्येक घरको मूल ढोकासम्मको दूरी मिटरमा नापेर सोही नापको आधारमा घरको नम्बर राखिएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले बताएको छ । चार वटै नगरमा सर्वेक्षण टोली घर-घरमा पुगेर मेट्रिक ठेगाना प्रणालीअनुसार घरहरूको नम्बरिङ गर्ने काम भएको छ ।
मेट्रिक ठेगाना प्रणालीमा प्रदान गरिने घर नम्बर मूल सडकको केन्द्रबाट घरको मूल गेटको दूरीमा आधारित भएको प्राविधिक विज्ञ कुँवरले बताए । उनका अनुसार यसबाट बाटो पत्ता लाग्नेबित्तिकै घर कति टाढा छ भन्ने सजिलै थाहा पाउन सकिनेन्छ । घर नम्बर दिँदा बाटोको बायाँपट्टि बिजोर र दायाँपट्टि जोर नम्बर राखिएको छ । गोदावरी नगरपालिकाभित्रका भवन, आवासी तथा व्यवसायीक प्रयोजनका भवन गरी करिव १५ हजारमा घर नम्बरिङ गरिएको छ । उक्त ठेगाना प्रणाली लागू भएपछि हरेक घरमा घर नम्बर देखिने गरी राख्नुपर्नेछ । पछि थपिने घरका लागि सम्बन्धित नगरपालिकाबाटै विशेष नम्बर प्रदान गरिने आयोजनाले बताएको छ ।