बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको मोबाइल ‘रिकभर’ गरिने भएको छ ।

घटनास्थलमा भेटिएको उनको मोबाइलबाट डिलिट भएका सबै म्यासेज, अडियो–भिडियो र कलको सबै विवरण निकाल्न प्रहरीले मोबाइल ‘रिकभर’ गरिरहेको हो । भट्टले मोबाइलसहित घटना स्थलमा भेटिएका सबुत प्रमाणको आवश्यकताका आधारमा परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइरहेको प्रहरीले जनाएको छ ।

त्यसबाट मोबाइलमा भएका सबै म्यासेज, अडियो–भिडियो र कलका सबै विवरण प्राप्त निकाल्न सकिने भएकाले अनुसन्धानमा सहज हुने छ । भागरथीले भारतीय सीमकार्ड पनि प्रयोग गर्ने खुलेको छ । घटनास्थलमा भेटिएको मोबाइलमा भारतीय सीमकार्ड मात्र फेला परेको र उनले प्रयोग गर्ने नेपाली सीमकार्ड सो दिन घरमै रहेको पाइएकाले प्रहरी अनुसन्धानमा केही समस्या भएको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार भारतीय सीमकार्ड र मोबाइलका म्यासेज, भिडियो–अडियो र कलको विवरण समेत डिलिट गरेको पाइएपछि मोबाइलबाट बलियो ‘क्लु’फेला पर्न सकेको छैन ।