नेपाल–भारत सीमा नाका खोल्ने विषयमा भारतको पिथौरागढ जिल्लाले सहमति दिएको छ । मन्त्रिपरिषदले दार्चुला सहित ३० ओटासीमा नाका नियमित खोल्ने निर्णय गरेको थियो । तर भारतीय प्रशासनबाट उक्त निर्णय कार्यान्वयन हुन नसकेकाले बेला एक हप्ता पश्चात् पिथौरागढ जिल्ला अधिकारी डाक्टर विजय कुमार जोगदण्डेले नाका खोल्न सहमति दिएका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय नै भएपश्चात् जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्राचार गरेको थियो । धारचुला एसडिएम कार्यालयले माथिल्लो निर्देशन चाहिने भन्दै पिथौरागढ जिल्लालाई अनुरोध पत्र पठाएको थियो । सोही अनुसार पिथौरागढ जिल्लाबाट हिजो मात्रै दार्चुला र बैतडीका नेपाल–भारत नाका नियमित खोल्ने विषयमा सहमति जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले गरेको पत्राचार अनुसार भारतीय प्रशासनले सहमति जनाएसंगै भोली देखि खलंगा नाका नियमित खोलिने प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनु भयो । यसअघि पनि विभिन्न समस्यामा समन्वय गरी केही समयका लागि नाका खोलिदै आएकोमा नेपाल सरकारको निर्णय अनुसार भोलीदेखि पूर्ववत् समयतालिका अनुसार नै नियमित खलंगा नाका खोल्न लागिएको उहाँले बताउनु भयो ।
नाका खोल्ने विषयमा भारतले सहमति जनाएसंगै खलंगा नाका नियमित खुल्ने छ । यद्यपि जिल्लाका अन्य नाकाहरुको विषयमा भने टुंगो लागिसकेको छैन । नेपाल भारतसंग सीमा जोडिएका झण्डै आधा दर्जन नाकाहरु रहेका छन् । लाली, जौलजीवि, दत्तु, तिग्रम पुलघाँट तथा सितापुल र खलंगा नाका गरी ६ ओटा सीमा नाका रहेका छन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी खलंगा पुलघाँट नियमित खुल्ने जानकारी गराएको छ भने अन्य नाकाका विषयमा टुंगो लागिसकेको छैन ।
पिथौरागढबाट सहमति नआउँदासम्म केही निश्चित समयका लागि जिल्ला सदरमुकाम खलंगा स्थित सीमा नाका खोलिदै आएको थियो । एक घण्टासम्म मात्रै खोलिदै आएको खलंगा सीमा नाका धारचुलामा भलिबल प्रतियोगिता सञ्चालन भएदेखि पुल खुल्ला रहने समय केही बढाइएको छ । शुक्रबार बिहानैदेखि साँझसम्म झण्डै ८ घण्टा सीमा नाका खुल्ला गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो । दुबै देशका स्थानीय प्रशासनको समन्वयमा शुक्रबार खलंगा पुलघाँट बिहान ९ ः १५ बजेदेखि साँझ ५ ः १५ बजेसम्म खोलिएको छ । कोरोना भाइरसबाट बच्न सुरक्षात्मक तथा स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण पालना गर्न समेत प्रशासनले आग्रह गरेको छ ।
झण्डै १० महिना पश्चात् खलंगा सीमा नाका नियमित रुपमा खुल्न लागेको हो । गत चैत्र १० गतेदेखि नेपाल सरकारले देशभर लकडाउन घोषणा गरेसंगै सम्पूर्ण अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएको थियो । त्यसबीचमा अत्याबश्यकीय कामका लागि सीमा नाका खोलिएपनि नियमित खुल्न सकेको थिएन ।