काठमाण्डौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसका लागि सरकारी वकिललाई समय तोकेका छन् । आइतबारदेखि सरकारी वकिलले बहसका लागि बढीमा १५ मिनेट मात्रै पाउने भएका हुन् ।

संसद विघटनको मुद्दाको सुनवाइका क्रममा शुक्रबार प्रधानन्यायाधीश जबराले आइतबारदेखि सरकार पक्षका बाँकी चार वकिललाई एक घण्टामा बहस सक्न भनेका हुन् । जबराले शुक्रबारको इजलास अन्त्य गर्दै भने, ‘ल आजलाई यति गरौं, आइतबारदेखि तपाईहरुले १० देखि १५ मिनेटमा सक्नुपर्छ है । प्रधानमन्त्रीको तर्फबाट पनि धेरै जना हुनुहुन्छ ।’

विघटनको मुद्दामा सरकारको तर्फबाट शुक्रबार लोकराज पराजुली, खेमराज ज्ञवाली, संजीवराज रेग्मीले बहस गरेका छन् । सरकार पक्षको बहस सोमबारदेखि सुरु भएको हो। हालसम्म सरकार पक्षका ८ जनाले बहस गरेका छन् ।