काठमाण्डौँ : कोभ्याक्स कार्यक्रम अन्तर्गत साढे २२ लाख कोरोना भाइरसविरूद्धको खोप यही महिनाको अन्तसम्म नेपाल आउनसक्ने देखिएको छ । कोभ्याक्सले बुधबार जारी गरेको रिपोर्टमा यसमा भएका सदस्य राष्ट्रहरूलाई जनवरीको अन्तसम्म खोप उपलब्ध गराउने भनेको छ । जस अनुसार नेपालले २२ लाख ५६ लाख डोज पाउने भनिएको छ । 

विश्व स्वास्थ्य संगठनले गरिब तथा अति कम विकसित राष्ट्रहरूलाई समेत खोपको सामान वितरण होस् भनेर गाभी संस्थासँग मिलेर कोभ्याक्स कार्यक्रम गठन गरेको थियो । उक्त कार्यक्रम अन्तर्गत त्यस्ता राष्ट्रहरूले कम्तिमा २० प्रतिशत खोप पाउने भनिएको छ । यद्यपि सुरूमा ३ प्रतिशत खोप उपलब्ध गराउने र बाँकी खोप चरण चरणमा दिने भनिएको छ । 

नेपालले पाउने भनिएको खोप भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक खोप हो । यसअघि भारतले कोभिसिल्ड खोप नै १० लाख डोज अनुदानमा दिएको थियो। अहिले देशभर स्वास्थ्यकर्मी र अन्य फ्रन्टलाइनरहरूलाई खोप दिइँदैछ । सरकारले करिब ४ लाख जनालाई खोप दिने लक्ष्य लिएको छ । यही हिसाबमा अब कोभ्याक्समार्फत आउने खोपले करिब ८ लाख व्यक्तिलाई खोप पुग्ने देखिएको छ ।