काठमाण्डौँ : नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले संविधानलाई कुल्चिएकाले जनतालाई सचेत गराउन बन्द गर्नु परेको बताएका छन् ।

संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै प्रचण्ड–माधव समूहले आम हड्ताल आह्वान गरेको छ । हड्तालको अनुगमनमा निस्किएका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले आफूलाई निरंकुश शासकका रुपमा प्रस्तुत गरेको बताए । ‘संविधानलाई कुच्लिएकाले प्रतिवाद स्वरुप आम जनतालाई समयमै सचेत गराउन बन्द गर्नु परेको हो,’ उनले भने, ‘यसले जनतालाई दुःख कष्ट भएको छ, यसमा हामी क्षमा माग्न चाहन्छौं ।’

ओली नेतृत्वको काम चलाउ सरकारले एकपछि अर्को गर्दै संविधान मिच्ने काम गरेकाले बाध्य भएर सडकमा आउनु परेको नेपालले बताए । प्रधानमन्त्री ओली संविधान, गणतन्त्र र संघीयताको पक्षमा पनि नरहेको पनि पूर्वप्रधानमन्त्री नेपालले जिकिर गरे । 

सभामुखले संवैधानिक नियुक्ति फिर्ता गर्दा पनि ओलीले असंवैधानिक रूपमा नियुक्त गरेको नेपालले बताएका छन् । ‘काम चलाउ सरकारका प्रधानमन्त्रीले संविधान मिचे, अधिनायकवादी चरित्रमा अघि बढिरहेका छन् । ओली भनेका निरङ्कुश शासक हुन्, पार्टीभित्र र सरकार सञ्चालनको क्रममा पनि भागेका हौँ,’  उनले भने, ‘ओली संविधान, गणतन्त्र र संघीयताको पक्षमा पनि छैनन्, संवैधानिक परिषद्‌मा नियुक्ति प्रकृया नै गलत छ ।’