काठमाण्डौ : नेकपाको प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्ताल सफल बनाउन भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सडकमा निस्कनुभएको छ ।

आफ्नो निवास नजिकै पर्ने ललितपुरको सातदोबाटो चोकमा उहाँ निस्कनु भएको हो । बुधवारको आम हड्तालको लागि पार्टीले विभिन्न नेताहरुलाई विभिन्न ठाउँको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ । प्रचण्ड सडकमा निस्किएपछि कार्यकर्ताले ‘आदेश देऊ प्रचण्ड, हामी लड्न तयार छौँ’ भन्ने नारा लगाएका छन् । प्रचण्ड–माधवका कार्यकर्ताले ‘गणतन्त्र जीन्दवाद, लोकतन्त्र जीन्दवाद, संविधानको रक्षा गरौं, प्रतिनिधिसभा सुचारू गर , निरङ्कुर तन्त्र चाहिँदैन, जनताको एकता जीन्दवाद’ भन्दै नारा लगाएका छन् ।

पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि विभिन्नखाले आन्दोलन गर्दै आएको प्रचण्ड–माधव समूहले बुधबार संवैधानिक निकायहरूमा गरिएको नियुक्तिलाई लिएर आमहड्तालको आह्वान गरेको हो ।  आमहड्तालको प्रभाव देशव्यापी रुपमा परेको छ ।