काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेजनमुक्ति सेनाका सबै तहका कमाण्डरलाई पार्टीमा सम्मानजनकरूपमा समायोजन गर्ने नीतिगत निर्णय आफूले गरेको भएपनि तल्लो तहसम्म उचित जिम्मेवारी पाए नपाएको फलोअप नगरेर गल्ती गरिएको भन्दै आत्मआलोचना गरे ।

बुधबार बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले बहिर्गमित तथा स्वेच्छिक अवकासमा परेका पूर्वजनमुक्ति सेनाहरूलाई पार्टीमा समायोजन गर्ने गरी विशेष प्रदेश कमिटी बनाउने आश्‍वासन दिए ।उनले जनयुद्धको घाइतेहरुलाई उपचार खर्च बढाउन, जनजिविकाका लागि राहत दिलाउन सरकारसँग पटक-पटक आग्रह गरेपनि अस्वीकार गरेको पनि बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले जनमुक्ति सेनालाई खरिद गर्न खोजेको भन्दै उहाँले भ्रममा नपर्न आग्रह गरे ।