प्रहरीले खैरो हेरोइन सहित बेलौरीबाट एकजनालाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका ७ बाट प्रहरीले सोहि स्थानका ४५ वर्षीय प्रभुराम चौधरीलाई झण्डै १९ ग्राम खैरो हेरोइन सहित पक्राउ गरेको हो ।

उनलाई भारतबाट लागु औषध नेपाल ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । उहाँका अनुसार चौधरी लागु औषधको कारोवारी रहेको आशंकामा पहिलेबाट प्रहरीको निगरानीमा थिए ।

मंगलबार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट १८ दशमलव ९३० मिलीग्राम खैरो हेरोइन बरामद भएको छ ।

पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय बेलौरीको हिरासनमा राखिएको छ । उनीमाथी थप अनुसन्धान गरी आवश्यक कारवाहि गरिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।