महेन्द्रनगर-कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी विगत ९ महिनादेखि बन्द छ । कोरोना भाइरसको संक्रमणका कारण बन्द गरिएको सीमानाका कहिले खुल्छ भन्ने पनि केही छैन । सीमानाका बन्द हुँदा स्थानीय बजारको भने प्रवद्र्धन भएको छ । अरुबेला स–सानो सामान किन्न पनि महेन्द्रनगरबाट सीमावर्ती बजार बनबासा जाने नेपालीहरु सीमा बन्द भएपछि भने महेन्द्रनगर बजारमबाटै सामान किनमेल गर्न बाध्य छन् ।
दैनिका उपभोग्य वस्तु खरिदका लागि नेपालीहरु भारतको सीमावर्ती शहर बनबासा धाउने गरेको थिए । सीमा खुलेको समयमा सुनसान हुने महेन्द्रनगर बजारमा भने यतिबेला चहलपहल बढेको छ । सीमानाका बन्द हुँदा स्थानीय बजार महेन्द्रनगरको बजारीकाण भएको छ ।
“पहिलेको भन्दा सीमा बन्द भएपछि नेपाली बजारको व्यापार बढेको छ” महेन्द्रनगर बजारका किराना व्यवसायी भुवन भाटले भने, “विगतको समयमा एक केजी चिनी किन्न भनेपनि नेपाली ग्राहकहरु बनबासा जाने गरेका थिए, सीमा नजिकको शहर भएकोले पनि सीमावर्ती शहर जान सहज मान्ने अवस्था थियो, अहिलेको दिनमा भने भारत जाने नेपाली ग्राहक सबै नेपाली बजारबाटै सामान किन्ने गरेका छन् ।” विगतमा भारतीय कम्पनीका सामान खोज्दै भौंतारिने नेपाली ग्राहक अहिले भने नेपाली उत्पादन खोज्दै आउने गरेको किराना व्यवसायी भाटले बताए ।
विगतमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–९ खल्ला मछेट्टीदेखि पुर्नवास नगरपालिकाको डोकेबजारसम्म भारतीय सीमाना जोडिएको ठाउँबाट नेपालीहरु सीमावर्ती शहर भारतबाट घरायसी उपभोग्य सामान किन्दै आएका थिए । कोरोनाका कारण धेरै व्यवासायीलाई घाटा भएपनि भारतसँग जोडिएका नेपाली बजारका व्यवसायीलाई नाफा भएसँगै चहलपहल बढेको व्यावसायीको भनाइ छ । सामान्य व्यवसाय गरिरहेको व्यवासायीको व्यवसाय पनि अहिले फस्टाएको किनारा व्यवसायी भाटले बताए ।
यसैगरी अर्का किराना व्यवसायी नन्दलाल भट्ले भने नेपाली उत्पादनले बजार पाएको बताए । “बजारमा विगतको भन्दा अहिले व्यापार बढेको छ, प्रत्यक्ष रुपमा नेपाली उत्पादनले बजार पाएको छ” व्यवासायी नन्दलाल भट्टले भने ।