अरूणदेव जाेशी

(सुदूर पश्चिका पहाडी जिल्लाहरुमा विभिन्न प्रकारका भाषा बोलिन्छन् । बझाङ, बाजुरा अछामको भाषा फरक–फरक किसिमको छ । डोटी, डडेल्धुरा, बैतडी, दार्चुलामा बोलिने भाषालाई एकमुष्ठ रुपमा डोटेली भन्ने गरिन्छ । स्थानीय भाषामा भने डोट्याल्ली, डोट्याली भन्ने चलन छ ।

दार्चुला, बैतडीका वासिन्दा भने डोटेली भन्दा डोटी, डडेल्धुराको भाषा हो भनी बुझ्छन् । उनीहरु आफूकहाँ बोलिने भाषालाई कतिपय अवस्थामा पहाडी भन्न रुचाउँछन् । स्थानीय भाषालाई दार्चुल्या/दार्चुलेली, बैतडा/बैतडेली भन्ने चलन पनि छ ।

दार्चुला जिल्लामै पनि भाषाको फरक फरक रुपलाई दुँवाल्या बोली, मार्माली, लेकमाल बोली भन्ने चलन छ । व्यासमा भने व्याँसी भाषा बोलिन्छ । लेकम, दुहुँ, मार्मामा बोलिने भाषाको साररुप उस्तै भए पनि लवज र कतिपय शब्दहरु पनि निकै फरक छन् । कालीपारी भारतीय भू–भागमा बाेलिने कुमाउनी भषाकाे केहि रूप दाचुर्लामा बाेलिने भषासँग मिल्छ ।

दार्चुलाको एक ठाउँमा प्रचलित शब्द दार्चुलाकै अर्को ठाउँका वासिन्दाले नबुझ्न सक्छन् । सुदूरका पहाडी भेगमा बोलिने भाषाको सर्वमान्य नाम र सर्वमान्य रुप के हुन सक्छ ? अझै लामो खोज, अनुसन्धान र बहसको विषय हो ।

प्रस्तुत कवितामा भने दार्चुलाको लेकम क्षेत्रको मध्यभागमा बोलिने बोली प्रयोग गरिएको छ । दार्चुला बाहिर जन्मे हुर्केको दार्चुलावासीको सन्तानको दार्चुला बुझ्ने चाहना, दार्चुलाप्रतिको अपनत्व र प्रेम कवितामा प्रस्तुत गरिएको छ ।)

दार्चुलाकी सोराई

ए मेरा बाबा ए मेरी इजा मारमा कहाँ हो
ब्यासको सेरो, लेकमको फेरो, दुहुँ कहाँ हो ।
भेडाका पिठ नुन ल्यौना सौका दादी कहाँ छ
काठको सरियो, रौउतका तौड काँ हुन्न अब त ।।

दुत्तियाकी जात, जातका दमौउ, जैपुर कहाँ हो
मालिकार्जुन मड, शीखर चढ्न्या रहर मनै र्याे ।
मैखोली खर्क, ऐडोको भोग द्यौतालाई चढौन्या
लटिनाथ, घाजिर सुर्मा, वीरेका यात्रा, चाहा खेलौन्या।।

हुड्काकी ताल, छङछङ पौंजी,धौली नाच्याकी
औ रज… भुण्डोई भडा हाल्द्या तो कालो बादी ।
बुबुकी कुलई, आमाको घाँगरो, ढोली दाजी सिलौन्या
दुवी–धागो, गलोफन्द, इजाकी गला क्या निको सोभौन्या ।

सौक्यानी बौजुले बुन्याको दन, देशमै नामको छ
आफरको बौसो, झौल्याको हलो,खेतका गडाई छ ।
नारिङका भाडी, काफल गडो, ऐंशेलु पाखान लाई
पन्यार पानी फोओलामै ल्याउने, बौजु, पर्सो डोका माई ।।

कालापानी, लिम्पया धुरा, कालीको मुहान को ?
कालीका तिर सुन्सेरा, हुती, जोगिनी जात निको ।
कुटि याङ्दी, तीङ्कर भञ्जयाङ, तिब्बतका बाटा माई
हुनिया औन्या, जुम्लीका घोडा जोलजिवी मेला लाई ।।

होलीमा औन्या तो शहरको जोगी, गोःराका विरुडा
विस्पति गोसी–बौजु सोडिन्या हुन्ना डाइन्या सिन्ना ।
गरणका दिन तिन मेरा भाईन छाड् रौवा भुण्डा हुन,
लाग बडबाप भुण्ड्या बुढ्या पार्की ऐल कसा छन् ।।

हड्ब्या, विण्नो, कुस्या पारो, डुँड्या, कि होलो ?
कसिडोँ, पराद, तौलो, खोपप्या, नौ मात्रै सुण्याको ।
चर, तौलो, कस्या थालो, बुबुका रोस्यो माई
जातरा पिस्याे घोगाका रोटा छाँइ–चुवा चपाउनाई ।।

ए मेरा बाबा ए मेरी इजा गोकुल्या कहाँ हो
चमलिया गाढ, उकुको महल, हिमाल अपी, खलंगा कहाँ हो ।
‘नैपाल’ जन्म्या, ‘नैपालै’ बढ्या, मुई रैछुँ काँहा को
ए मेरा बाबा ए मेरी इजा दार्चुला कहाँ हो ।।