विपन्न परिवारका महिलालाई आर्थिकरूपमा सवल बनाई घरेलु हिंसा न्यूनीकरणमा सघाउ पुर्याउनका लागि शुक्लाफाँटा नगरपालिकाका ५० महिलालाई बाख्रापालनका लागि अनुदान रकम उपलब्ध गराइएको छ।

नगरपालिकाको वडा नं २ र १२ का  महिलालाई सीप तथा व्यावसायिक विकासका लागि  बाख्रापालनसम्बन्धी सातदिने तालिम उपलब्ध गराई अनुदान रकम उपलब्ध गराइएको हो। तालिममा सहभागी भएका महिलालाई  तीन हजारका दरले अनुदान रकम उपलब्ध गराइएको छ । आधा रकम नगरपालिकाको महिला शाखाले र आधा रकम तालिममा सहभागी महिलाले बाख्रापालनका लागि व्यहोर्ने सहमति गरिएको छ।

“महिला आर्थिकरूपमा सक्षम भए घरेलु हिंसाका घटना कम हुन्छन”, नगरपालिकाको महिला शाखाका प्रमुख कमला जोशीले भने, “महिलालाई आर्थिकरूपमा सक्षम बनाउनकै लागि सातदिने तालिमसँगै अनुदान रकम उपलब्ध गराएका छौँ”, नगरपालिकाको दुवै वडाका २५÷२५ महिलालाई छुट्टाछुट्टैरूपमा तालिम प्रदान गरिएको उनले भने। 

घरेलु हिंसा न्यूनीकरणमा सघाउ पुर्याउनुका साथै महिलाको सामाजिक, आर्थिक अवस्था सुदृढ गर्ने, बचत बढाउनका लागि सीप क्षमताको विकास गर्ने र उत्पादनशील क्षेत्रमा पूँजी परिचालन गर्नका लागि उत्प्रेरित गर्न तालिमसँगै अनुदान रकम दिइएको उनको भनाइ छ। नगरपालिकाको महिला शाखाले गठन गरेका महिला विकास समिति, संस्था र समूहमा आवद्ध महिलाले अनुदान रकम पाएका छन्।