कञ्चनपुर : सशस्त्र प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित शनिबार साँझ पक्राउ गरेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्केको सशस्त्र प्रहरी नायब निरीक्षक केशवबहादुर चन्दको कमाण्डमा रहेको टोलीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक ऐरका अनुसार उनीहरुको साथबाट नक्कली नोट बनाउने कागज २००, नक्कली नोट एक हजार दरको पाँच, मोबाइल फोन दुई थान, नगद रु १६०, मोटरसाइकलको लाइसेन्स र ब्लुबुक बरामद गरिएको छ ।

पक्राउ परेका दुवैलाई बरामद नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाइएको छ ।