महादेव अवस्थी /महेन्द्रनगर
कञ्चनपुरको भीमदत्त नगरपालिले “स्वच्व सफा र हराभरा भीमदत्तनगरपालिका” नारालाई आत्मसाथ गरेको छ भने ग्रीन सीटी ,क्लीन सीटी अभियानलार्ई आत्मसाथ गरेको छ ।
नगरपालिकाले नगरसफा राख्न सफाईकर्मी समेत परिचान गरेको छ । तर भीमदत्तनगरपालिका कार्यालयको १ किलोमिटरको वरीपरी फोहोरै फोहोरको थुप्रो छ । भीमदत्तनगरको मुख्य प्रवेशद्धारको ठिक अगाडीको बाटो हिड्ने यात्रुले नाक थुन्नुपर्ने अवस्था छ । दिनहुँ हजारौं यातायातका साधन र पैदलयात्रीले ओहोरदोहोर गर्ने महेन्द्रनगरको ट्राफिक चोक छेउमै भीमदत्तनगरपालिकाले महेन्द्रनगर बजारबाट संकलन गरेको फोहोर विर्सजन गर्ने गरेको छ । जसका कारण राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रीहरु र्दुगन्ध छिचोल्दै आउजाउ गर्न बाध्य छन ।
बजारको मुटुमा हिन्न नाक थुन्नुपर्ने अवस्था दुर्भाग्य भएको स्थानीयको गुनासो छ । ट्राफिक चोक जिल्ला प्रशासन कार्यालय कञ्चनपुर,यातायात कार्यालय,मालपोत कार्यालय,नापी कार्यालय र जिल्ला अदालत आउने सेवाग्राहीहरु मुख्य सडक हो । सोबाटो प्रयोग गरेर हिड्ने यात्रु दुर्गन्धबाट हैरान भइसकेका छन ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत महेन्द्रनगरको ट्राफिक चोकमा विर्सजन गरेको फोहोरको थुप्रोले महेन्द्रनगर बजार प्रवेश गर्ने बित्तिक्कै नाक थुन्नु पर्ने अवस्था नगरपालिका आफैले सिर्जना गरेको छ । राजमार्गको छेउमै फालेको उक्त फोहोरले भीमदत्तनगर कत्तिको सफा छ भन्ने कुरा दर्शाउछ ।

महेन्द्रनगरको गल्ली नं. ५ स्थीत फोहोरको थुप्रो र दुर्गन्धित नालीको माथी खाजानास्ताको ठेला ।


नगरपालिका कार्यालयको चारैतीर फोहोरको थुप्रो छ । नगरसफा राख्न भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार एरियामा मात्रै ३९ जना कर्मचारी खटाएको छ । फोहोरमैला व्यवस्थापन शाखाबाट भीमदत्तका ४२ जना कर्मचारीले तलब भत्ता बुझ्ने गरेका छन । नगरपालिकाको सरसफाई तथा फोहोरमैला व्यवस्थापनमा खटिएका ४२ जना कर्मचारीको तलबमा मात्रै नगरपालिकाले मासिक ९ लाख खर्च गर्ने गरेको छ । त्यो संगै नगरपालिकाले हरेक वर्ष फोहोरमैला व्यवस्थापनका लागि रु ५ लाख बजेट समेत छुट्याउने गरेको छ ।
फोहोरमैला व्यवस्थापनमा नगरपालिकाले करोडौ खर्च गर्छ तर पनि नगरभित्रै नगरको प्रवेशद्धारमै नाकथुन्न पर्ने अवस्थाले भीमदत्तलाई गिज्याइरहेको छ । महेन्द्रनगर बजार बाहेक ब्रह्मदेव बजारमा २ जना सफाइकर्मी र गड्डाचौकी बजारमा नगरपालिकाले १ जना सफाईकर्मी खटाएको छ । तुलनात्मक हिसाबले हेर्ने हो भने महेन्द्रनगर बजार भन्दा ब्रह्मदेव बजार र गड्डाचौकी बजार सफा छ । महेन्द्रनगर बजारमा फोहोर संकलनका लागि हरेक बिहान नगरपालिकाका सफाईकर्मीहरु आउँछन । स्थानीयहरुले फोहोर संकलन गरेवाफत समेत नगरपालिकालाई शुल्क तिर्ने गरेका छन । तर पनि नगरको मुख्य चोकहरुमा आम नागरिकले नाक थुन्नुपर्ने अवस्था छ । भीमदत्तनगरपालिकाले फोहोरपमैला व्यवस्थापनका लागि मासिक लाखौ खर्च र पर्याप्त कर्मचारी हुदाँसम्म नगर सफा र स्वच्व हुनु नसक्नु दुर्भाग्य हो । अर्को तर्फ प्लास्टीक जन्य फोहोरले गर्दा वातावरणमा समेत प्रभाव पारिरहेको छ ।


उता भीमदत्तनगरपालिकाले नियुक्त गरेका सरसफाई दुत हरुले नै नगरको सफाईबारे प्रश्न उठाएका छन । भीमदत्तनगरपालिकाले सरसफाई दुतका रुपमा नियुक्त गरेका हेल्प नेपालका अध्यक्ष समेत रहेका सामाजिक अभियन्ता मदन चन्दले भीमदत्त नगरपालिकाकै कर्मचारी फोहोर भएको आरोप लगाएका छन । “नगरपालिकाले सरसफाईका नाममा वार्षिक १ करो भन्दा बढी खर्च गर्छ ३०÷४० जना कर्मचारी छन ।” उनले भने–“नगरपालिकाले सरसफाइकर्मीहरुलाई राम्रो संग परिचालन गर्न सकेको छैन ।”
उता भीमदत्तनगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुष्कर प्रसाद भट्टले बजारबाट संकलन गरेको फोहोर विर्सजन गरिसकेपछि ग्राइभल हालेर पुर्ने गरेको बताए । “फोहोरमैला व्यवस्थापन केन्द्रको टुङ्गो नलागेसम्म बजारको छेउछाउमा विर्सजन गर्नुपरेको हो ।” उनले भने–“उक्त फोहोरले वातावरणमा अलिअलि असर त गर्छ नै ।” उनले फोहोरमैला व्यवस्थापनमा खटिएका कर्मचारीको मासिक तलब ९ लाख भन्दा बढी हुने बताउँदै फोहोरमैला व्यवस्थापनका लागि मासिक ५ लाख बजेट समेत छुट्याउने गरेको बताए । हाल भीमदत्तनगरपालिकाले महेन्द्रनगर बजारबाट दैनिक ११ टन फोहोर संकलन गर्दै आएको छ ।