धनगढी : नेकपाका अध्यक्ष प्रचण्डले सुदूरपश्चिमका जनता महान भएको बताएका छन । शनिबार धनगढीमा आयोजित विरोधसभामा बोल्दै अध्यक्ष प्रचण्डले सुदूरपश्चिमका जनता कहिले नझुक्ने सन्देश आफुले विश्वमा पुर्याउने बताए । ‘सुदूरपश्चिमका जनता महान छन्,’ उनले भने। ‘कुनै निरंकुश तत्वमाथि जागेका जनतालाई कसैले झुकाउन सक्दैन,’ उनले बताए ।

‘प्रचण्ड’ले सडकमा आफ्ना पक्षमा बढी जनता छन् कि भनेका प्रधानमन्त्री केपी ओलीलाई सुदूरपश्चिमका जनताले फुच्चे बनाइदिएको बताएका छन् । उनले ओलीको पक्षमा एक तिहाइ मात्रै रहेको र सडकमा पनि अवस्था त्यस्तै देखिएको बताए । ‘धनगढीमा अस्ति आउँदा अलि फुलेका थिए, तपाईंहरू सडकमा आएर यहाँ पनि एक तिहाइ पुग्दैन भन्ने देखाएर ओलीजीलाई फुच्चे बनाउनुभयो, धन्यवाद दिन चाहन्छु,’ उनले भने । केपी ओलीको पार्टीको पक्षमा केन्द्रीय कमिटी र स्थायी कमिटीमा एक तिहाइ पनि नपुगेको दाहालको दाबी छ ।