काठमाण्डौँ : चिकित्सक तथा नागरिक अभियन्ता डा. गोविन्द केसीले तीन करोड नेपालीले रगत र पसिना बगाएर ल्याएको संविधानको हत्या गर्ने अधिकार कसैलाई नभएको बताएका छन् । 

शनिबार प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा आयोजित ‘अहिंसात्मक नागरिक प्रदर्शन’ लाई सम्बोधन गर्दै डा. केसीले जनताकै करबाट तलबभत्ता खाए पनि अधिकांश पार्टीका नेताहरुले जनपक्षीय काम नगरेको आरोप लगाएका छन् ।  ‘जनताले आफ्नो छाक काटेर तिरेको करबाट तलबभत्ता खाने तर उनीहरु जनताका पक्षमा ऐनकानुन बनाउँदैनन्,’ उनले भने ।

कोरोना महामारीबाट निम्तिएका समस्यालाई सम्बोधन गर्नुपर्ने बेलामा पार्टीको आन्तरिक विवादका कारण ओलीले प्रतिनिधिसभा नै विघटन गरी असंवैधानिक कदम चालेको पनि केसीले बताए ।

‘कोरोनाको प्रभावले ज्यालामजदुरी गर्नेहरु भोकै बस्ने अवस्था छ । यस्तो बेलामा त कोरोनाको प्रभावबाट कसरी मुक्ति पाउने भन्ने विषयमा छलफल हुनुपर्ने हो ।अनावश्यक चुनाव अर्बौं खर्चेर चुनाव गर्नुभन्दा गाउँगाउँमा अस्पताल खोल्न सकिन्थ्यो । कोरोनाले भोकै परेका मजदुरहरुलाई हेर्न सकिन्थ्यो नि । जनता मरुन् बाँचुन् केही मतलब छैन । उनले असंवैधानिक कदम त चाले नै राज्यकोषको पनि दुरुपयोग गर्ने काम गरे,’ केसीले भने ।