महेन्द्रनगर: सिमानाका खुला भएको सुचना पाएर भारत जान लागेका नेपाली नागरीक गड्डाचौकी नाका पुगेर फिर्ता भएका छन ।
मन्त्रीपरिषदको निर्णयले भारतसँग जोडिएका सुदूरपश्चिमका सबै सीमानाका शुक्रबारदेखि खुला गरेको भएपनि शुक्रबार अपरान्ह भारत जानका लागि गड्डाचौकी पुगेका नेपालीलाई शसस्त्र प्रहरीले सिमानाकाबाटै फिर्ता पठाएको छ ।
रोजगारीको लागि भारत जान लागेका कैलालीको टिकापुरका राकेश मगरले सिमानाका खुलेको सुचना पाएर भारत जानका लागि गड्डाचौकी नाका पुगेको बताए । “सरकारले भारतसंग जोडिएका सुदूरपश्चिमका सबै नाका खुला गरेको समाचारमा आएपछि थाहा पाए । ” उनले भने–“२४ सै घण्टा खुला हुन्छ भनेर आएको यहाँ जान दिएन ।” भारत जान नपाएपछि समस्यामा परेको उनीहरुको गुनासो छ । एक दिन महेन्द्रनगरमा बास बस्नुपर्ने अवस्था आएपछि आफुहरु मार्कामा परेको उनीहरुको गुनासो छ ।
“यहाँ एक दिन होटेलमा बस्नु पर्नेभयो ।” उनले भने –“होटेलमा बस्नेपैसाले हाम्रो गाडीभाडा हुनेथियो ।” शुक्रबारदेखी कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा र पुलघाट नाका पूर्ण रुपमा खुला गरिएको जनाएपनि गड्डाचौकी नाकाबाट नेपालीले भारत जान प्रवेश पाएका छैनन ।
जिल्ला प्रशासन कार्यालयले भने नाका खुला गर्न आन्तरीक तयारीमा जुटेको र भोलीबाट सहज रुपमा आवतजावत हुने जनाएको छ । सरकारले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत १० गतेदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको थियो ।