काठमाण्डौँ : निर्वाचन आयोगले नेकपाका दुवै पक्षका नेतालाई संयुक्त छलफलका लागि शुक्रबार बोलाएको छ । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना निकाल्नुअघि आयोगले नेकपाका नेताहरूसँग छलफल गर्न खोजेको हो । 

आयोगले दुवै अध्यक्ष ओली र दाहाललाई बोलाए पनि उनीहरू जाने/नजाने निश्चित छैन । ओलीका कानुनविज्ञ सल्लाहकार बाबुराम दाहालले आयोगको पत्र प्राप्त भएको तर प्रधानमन्त्री आफैं जाने वा नजाने विषयमा आफूले जानकारी नपाइसकेको बताएका छन् । उक्त पक्षबाट सुवास नेम्वाङसहितका नेता आयोग जाने सम्भावना छ ।

दाहाल पक्षका कानुनी सल्लाहकार मुक्ति प्रधानले पनि को–को जाने विषयमा आफूले जानकारी नपाइसकेको बताए । उक्त पक्षबाट लीलामणि पोखरेल, राजेन्द्र पाण्डेसहितका नेता आयोगको निरन्तर सम्पर्कमा रहने गरेकाले छलफलमा पनि उनीहरूकै उपस्थिति रहने सम्भावना छ ।