महाकाली नदी भन्ने बित्तिक्कै धेरैले माछाका बिभिन्न प्रजातिमध्ये महाकालीमा पाइने ‘महाशिर माछा’ सम्झिन्छन् । अधिकांसले खान रुचाउने माछा पनि यहि हो ।देख्नमा आकर्षक, तौल पनि धेरै हुने र खानमा पनि स्वादिष्ट हुने भएकाले यसलाई माछाको राजाका रुपमा समेत चिनिन्छ । महाकाली किनारमा पुग्ने जो कोही पनि महाशिर देख्‍न र यसका बारेमा जान्‍न उत्सुक हुने गर्छन् ।

तर हालका वर्षमा महाशिर माछा लोप हुने अवस्थामा पुगेको छ । नदीमा भौतिक संरचनाहरुमो निर्माण तीव्र हुनुका साथै अनियन्त्रित ढंगले माछा मार्ने क्रम पनि बढ्दै गएकाले महाशिर लोप हुने अवस्थामा पुगेको हो । दशवर्ष अघिसम्म पनि महाकालीमा एउटै एक/डेढ क्विण्टलभन्दा ठुलो तौल भएको महाशिर भेट्न सकिन्थ्यो । तर अहिले १०/१५ किलोग्रामका महाशिर पनि भेटिन गाह्रो हुने गरेको छ ।

‘वारि पारि मसिनो जाल प्रयोग गरेर चाल्नी जस्तै माछा पनि चालिसकेका छन्,’ महाकाली नदीमा लामो समयदेखि र्‍याप्टिंग चलाउँदै आएको सीमावर्ती टनकपुरका व्यवसायी राज गडकोटीले भने, ‘विषादीको प्रयोगसँगै साना माछा मार्ने क्रम तीव्र भएको छ ।’ उनी आफैंले २० वर्ष पहिले ब्रम्ह्देव क्षेत्रमा १ क्विण्टल १० किलोग्रामको महाशिर भेटेका थिए । तर त्यसपछि भने नभेटेको उनी बताउँछन् ।

गडकोटीले पुर्णागिरीको फेददेखि ब्रम्ह्देवसम्मै र्‍याप्टिङ सञ्चालन गर्दै आएकाछन् । यससँगै फिसिङ पनि गराउँछन् । तर उनले फिसिङका क्रममा समातिएका माछा फेरी नदीमै छाड्छन् । काठमाडौंबाट राणा र शाही परिवार समेत फिसिङका लागि आउने गरेको उनी बताउँछन् । ‘महाशिरको सुन्दरताले सबैलाई तानिरहेको छ, तर हालका वर्षमा लोप हुन थालेपछि हामीजस्ता व्यवसायीलाई चिन्तित बनाएको छ,’ उनले भने, ‘दुवैतर्फ माछा संरक्षणका अभियानहरु च्लाउनुपर्छ, स्थानीयले पनि यसतर्फ सजग हुनपर्छ ।’

ब्रम्ह्देव क्षेत्रमामात्रै होइन महाकालीको तल्लो तट दोधारा चाँदनी क्षेत्रमा पनि माछा पाइन छाडेको छ । अझ महाशिर त लोप नै भइसकेको व्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार १० वर्ष अघिसम्म जालमा आधाभन्दा बढी महाशिर पर्ने गरेका थिए । तर अहिले १०/१५ किलोमा १/२ वटा मात्रै महाशिर पर्ने गरेका छन् । ‘महाशिर त देख्नै पाइदैन, अब लोप नै हुने अवस्थामा छ,’ लामो समयदेखि महाकालीमा माछा मार्दै आएको ठेकेदार ओम चन्दले भने, ‘विषादी र सानाजालको प्रयोगले भुरा माछा सबै नाश भइसकेका छन् ।’ उनका अनुसार नदी किनारका स्थानीयले अहिले पनि विषादी र विस्फोटक पदार्थको प्रयोग गरेर माछा मारिरहेका छन् ।

महाकालीको आकर्षणका रुपमा महाशिर चिनिन्छ । जुन धेरैका लागि अवलोकन र अध्ययनको विषय पनि हो । अब पनि अनियन्त्रित रुपमा माछा मार्ने क्रम नरोकिए महाशिर इतिहास भएर जाने लामो समयदेखि नदीको शुद्धता र माछा संरक्षणमा सक्रिय रहेका स्थानीय किसन खड्काले बताए । ‘महाशिर संरक्षणका लागि अब ढिलो गर्नु हुँदैन,’ उनले भने, ‘नदी किनारका स्थानीयसँगै स्थानीय तहहरुले पनि यसतर्फ चासो दिनुपर्छ ।’ महाशिर संरक्षणबाट जलीय जैविक विविधता कायम राख्नुका साथै जलपर्यटनलाई समेत प्रवर्द्धन गर्न सकिने उनले बताए ।

जुन अनुपातमा माछा लोप हुँदै गएको छ, त्यहि अनुपातमा नदीको पानी पनि दूषित बन्दै गएको विज्ञहरु बताउँछन् । ‘जहाँ माछा बढी पाइन्छन्, त्यो नदी शुद्ध छ भन्ने सहजै अनुमानगर्न सकिन्छ,’सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका वातावरण विज्ञानका उपप्राध्यापक तर्कराज जोशीले भने, ‘नदीमा भएको फोहोर र सुक्ष्म जीवाणु माछाले खाने भएकाले नदीलाई दुषित हुनबाट जोगाउँछन्, माछा कम भएपछि त्यो फोहोरले नदी दुषित हुँदै जान्छ ।’ (साभार कान्तिपुरबाट)