काठमाण्डौँ : कोरोना महामारी सुरु भएको करिब १ वर्षपछि वैज्ञानिकहरुले यसको रोकथामका लागि खोपको विकास गरेका छन् । अनेक प्रयासका बाबजुद पनि पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको कोरोना महामारी खोपबाट नियन्त्रणमा आउने अपेक्षा गरिएको छ ।

भारतले खोप अभियान सुरु गरेको एक साताभित्रै नेपालमा पनि खोप लगाउन थालिएको छ । दक्षिण एसियामा कोरोनाको खोप लगाउने नेपाल दोस्रो मुलुक हो । बंगलादेश र भुटानलाई पनि भारतले १० लाख डोज दिएको छ तर त्यहाँ लगाउन सुरु भएको छैन । 

नेपालले पाएको खोप बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका कम्पनीले तयार गरेको र भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको र यसको प्रभावकारिता ७० प्रतिशत बताइएको छ ।