सुर्खेत : मंगलबार बेलुकी जुम्लाको तिला गाउँपालिका-७ पोखरीस्थित गोठीगाउँमा भएको भीषण आगलागीबाट ३२ घर र ७० पशु चौपाया जलेर नष्ट भएका छन् ।

आगलागीबाट ३२ घर जल्नुका साथै १७ गाई, २३ गोरु र ३० बाख्राको मुत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । स्थानीय परबहादुर रोकायको घरमा खाना पकाउने चुलोको पाइपबाट आगोको झिल्का निस्केर छानामा सल्किएको प्रदेश प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा आगो पूर्णरुपले नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । आगलागीबाट करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।