कञ्चनपुर : सरकारले देशभर कोरोनाभाइरस विरुद्धको खोप अभियान सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा पनि बुधबार खोप अभियान उद्घाटन भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा कोभिड–१९ (कोरोनाभाइरस) विरुद्ध प्रथम चरणको खोप अभियान सुरु गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरी अभियान सुरु गरेका हुन् । अभियान अन्तर्गत पहिलो खोप सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले लगाए । नेपाल सरकारले छोटो समयमा खोप उपलब्ध गराएर आफूले पहिलो खोप लगाउने अवसर पाएको भन्दै उनले खुशी व्यक्त गरे ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ९ ठाउँबाट एकसाथ कोभिड–१९ विरुद्ध प्रथम चरणको खोप अभियान सुरु गर्ने भनिए पनि बाजुरा जिल्लामा भने खोप पुग्न ढिलाइ भएकाले बिहीबारबाट खोप अभियान मात्र सुरु हुनेछ ।