काठमाण्डौँ : सरकारले करार सेवामा ४७ हजार जना कर्मचारी माग गरेको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना कार्यक्रम अन्तर्गत राष्ट्रिय जनगणना, २०७८ मा तथ्यांक संकलन तथा सुपरीवेक्षण गर्ने कार्यका लागि सो संख्यामा कर्मचारी माग गरेको हो । विभागले ६० दिनभित्र दरखास्त पेश गर्न बुधबार जारी गरेको सूचनामार्फत अनुरोध गरेको छ । 
विभागका अनुसार सुपरीवेक्षक ८ हजार जना माग भएको छ भने गणक ३९ हजार माग गरिएको छ । आवेदन दिनेमध्येबाट निश्चित मापदण्डको आधारमा सर्टलिस्ट गरिने सूचनामा उल्लेख छ । दरखास्त फाराम भर्दा कुनै शुल्क नलाग्ने विभागले जनाएको छ । सुपरीवेक्षक र गणक दुवै पदमा दरखास्त दिनेहरूले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने तर कुनै एक पदका लागि मात्रै भर्ना गरिने विभागले जनाएको छ । गणक पदका लागि प्रविणत प्रमाणपत्र तह मात्रै उत्तीर्ण गरेको भए पनि पुग्ने जनाइएको छ ।