काठमाण्डौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अबका तीन महिनाभित्र सबै नेपालीले कोरोनाविरूद्ध खोप पाउने बताएका छन् ।

कोरोनाविरूद्ध खोप अभियानको आज शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिने बताएका छन् ।

‘तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिन्छ,’ उनले भने । सरकारले आज १२ हजार जनालाई कोरोना खोप लगाउने तयारी गरेको छ । देशका १२० खोप केन्द्रबाट खोप लगाइन्छ ।

यसका साथै उनले सर्वसुलभ रुपमा उपलब्ध भए मात्रै कोरोनाविरुद्धको लडाइँमा जित हात पर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने, ‘कोरोनाविरुद्धको खोप नाफा कमाउने र व्यापारको विषय हुनु हुँदैन । यो खोप सबैको पहुँचमा हुनुपर्छ । गरिब धनी सबै देशको पहुँचमा हुनुपर्छ ।’

उनले सबै नेपाली नागरिकलाई प्राथमिकताका आधारमा कोरोना खोप नि:शुल्क उपलब्ध गराइने पनि बताए । प्रधानमन्त्री ओलीले खोपबाट कोही पनि बञ्चित हुन नहुने बताएका छन् ।