काठमाण्डौँ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले ओलीलाई बहुमत केन्द्रीय सदस्यले अध्यक्षबाट हटाइसकेको भन्दै घुमिफिरी आफू नै आउने बताएका छन् ।

सोमबार प्रदेश २ का नेता-कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै उनले निर्वाचन आयोगले आफूलाई अध्यक्ष नमाने पनि केही फरक नपर्ने बताए । आयोगले ४४१ सदस्यीय केन्द्रीय कमिटी र अनुशासनको कारबाही गर्ने पुरानो विधान लागू हुन्छ भनेको बताउँदै नेपालले भने, ‘दुई अध्यक्ष हुनेछ भनेर लेखेको हुनाले घुमिफिरी म आउने नै भएँ ।’ ओलीलाई बहुमत केन्द्रीय सदस्यले अध्यक्षबाट हटाइसकेको भन्दै उनले अघि भने, ‘केपी ओलीजी केही चान्स छैन तपाईंको । खुरुक्क बालुवाटार छाड्नुस्, आराम गरेर बस्नुस् ।’