काठमाण्डौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्नेहरू देश विरोधी भएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेका प्रधानमन्त्री ओलीले केही मानिसहरू प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भयो भनेर कराइरहेको टिप्पणी गरेका छन् ।

‘संसद विघटन भएको असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन् । ती कराउने मान्छेहरू संविधान विरोधी, लोकतन्त्र, देश विरोधी हुन्,’ उनले भने ।

प्रधानमन्त्री ओलीले संसद भनेको जागिर होइन तर उनीहरुको तर्क पाँचै वर्ष जागिर खानु पर्छ भनिरहेको हुुनाले संसद विघटन हुँदा उनीहरुमा छट्पटी भएको दावी गरे । उनीहरुले अर्काका इशारामा देशमा अस्थिरता ल्याउन थालेका कारण आफूले जनताको मत लिनका लागि संसद विघटन गरेको दावी गर्दै प्रधानमन्त्री ओलीले स्थिरताका लागि ताजा जनादेशमा जानका लागि यो कदम चालिएको दावी गरे । सांसद हुँदा कस्ता–कस्ता काम गरिएका छन्, त्यसको मूल्याँकन जनताले गर्न पाउनुपर्ने बताउँदै उनले अहिले आफ्नो हातमा केही नरहेको सबै जनतालाई सुम्पेको र जनताले सबै मूल्याङ्कन गर्ने धारणा राखे ।