भीमदत्त नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानून बनाएको छ ।

भीमदत्तको आठौँ नगरसभाबाट महाकाली बहुप्राविधिक शिक्षालय स्थापना तथा सञ्चालन विधेयक, २०७७ पारित गरिएको हो । भीमदत्तले महाकाली अस्पतालसित साझेदारीमा प्राविधिक शिक्षालय सञ्चालन गर्न लागेको हो । त्यसका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले अनुमति दिइसकेको छ । आठौँ नगरसभामा पुस २८ गते विधेयक पेश गरिएको थियो । शुक्रबार विधेयकमाथि दफावार छलफल भएर पारित गरिएको नगरपालिकाका प्रवक्ता हिमालबहादुर चन्दले बताए । “अब महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि चाहिने कानून नै बनेको छ, त्यसका आधारमा शिक्षालय स्थापना र सञ्चालन प्रक्रिया अघि बढ्छ”, उनले भने ।

नगरसभाबाट शिक्षालय सञ्चालनसहित अन्य विधेयक पनि पारित भएका छन् । भीमदत्त नगरपालिकाको सुशासन समिति गठन तथा सञ्चालन विधेयक–२०७७, लेखा समिति गठन तथा सञ्चालन नियमावली–२०७७, वन ऐन–२०७७ र विधायन समिति गठन तथा सञ्चालन विधेयक–२०७७ पारित गरिएको छ ।