काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षसम्म केपी ओलीलाई तह लगाउन नसकेकोमा आत्मालोचना गरे ।

राजधानीमा आयोजित प्रदर्शनपछिको सभामा बोल्दै उनले राजा महाराजालाई फाले पनि ओलीविरुद्ध उदाररुपमा प्रस्तुत हुनु आफूहरुको कमजोरी भएको बताए ।प्रचण्डले भने, ‘हामीले जनयुद्ध र जनआन्दोलनमार्फत गौरवपूर्ण परिवर्तन हासिल गरेका थियौं । राजा महाराजाको श्रीपेच झिकेर लात्तले हान्न सक्छन् भन्ने प्रमाणित गरेका थियौं । तर देशलाई प्रगतितर्फ लैजाने सपना तीन वर्षमा पुुरा गर्न सकेनौं ।’

‘मैले सोचेको थिएँ पार्टी एकतापछि र दुई तिहाई ल्याएपछि घोषणापत्रमा भनेजस्तै सबै क्षेत्रमा न्यायको नयाँ युग सुरु हुनेछ । सुशासन र पारदर्शीताको नयाँ युग सुरु हुनेछ । सबै उत्पीडितले राहत पाउनेछन् । हामीले घोषणापत्र जस्तै गर्न नखोजेको पनि होइन । तर सुरुदेखि अभाष भएको थियो, केपीजीले सहमति गर्ने तर कार्यान्वयन एउटा पनि नगर्ने हुन् कि भन्ने’ उनले भने, ‘सत्ता प्राप्तपछि सहमतिअनुसार एउटा पनि काम नगर्ने लक्षण देखिएको थियो ।