महेन्द्रनगर :भारत सरकारले नेपाललाई कोरोना भाइरस विरुद्धको खोप प्रदान गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि अभियान सञ्चालनका लागि तयारी थालिएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयले संघीय सरकारकै निर्देशनबमोजिम प्राथमिकतामा परेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तथ्यांक संकलन गरेको छ । स्वास्थ्य निर्देशनालय दिपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले प्रदेशका सबै जिल्लाबाट अग्रपंक्तिमा खटिने १४ हजार ६६६ स्वास्थ्यकर्मीसहित २६ हजार ७०० जनाको तथ्यांक संकलन भएको बताए ।
सरकारले पहिलो चरणमा कुल जनसंख्याको तीन प्रतिशतलाई पुग्ने गरी कोरोना भाइरसविरुद्धको खोप सुदूरपश्चिम प्रदेशका लागि पठाउने अनुमान गरिएको उनको भनाइ छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले स्वास्थ्यकर्मी र सुरक्षाकर्मी तथा एम्बुलेन्स चालक, शव वाहन चालक, स्वास्थ्य संस्थामा कार्यरत कार्यालय सहयोगी, सरसफाइकर्मीलाई प्राथमिकतामा राखिएको छ । तर, स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो चरणमा सुदूरपश्चिममा १६ हजार २९३ जनाले खोप लगाउन पाउने भएका छन ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले कोरोना भाइरसविरुद्धको खोप भण्डारणका लागि खोप सामग्री भण्डारण कक्षलाई खाली गरेर तयारी अवस्थामा राखेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ६३ हजार ३६० जनालाई र सबैभन्दा कम कर्णाली प्रदेशमा ११ हजार ५३२ जनालाई खोप दिइने छ ।लुम्बिनीमा ३९ हजार ४९५, प्रदेश १ मा ३५ हजार ४५६, प्रदेश २ मा ३४ हजार ८०४, गण्डकीमा १७ हजार ६३० जनालाई खोप दिइने छ ।