काठमाडौं: भारतले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप (कोभिसिल्ड) नेपाल भित्रिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कुनै व्यक्तिलाई खोप लगाइसकेपछि आधा घण्टा अवलोकनमा राखिनेछ । ‘पहिलो डोज ०.५ मिलिलिटर लगाएपछि ३० मिनेट अवलोकनमा राखिन्छ, खोप लगाएपछि केही समस्या भए थप उपचारको व्यवस्था गरिन्छ । ’ प्रवक्ता गौतमले भने–‘तर, खोप लगाएर मृत्यु भएमा त्यसको जिम्मेवारी भने सरकारले लिँदैन।’
एयर इन्डियाको विमानमार्फत मुम्बईबाट नयाँ दिल्ली हुँदै खोप काठमाडौं ल्याइएको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गरेका छन । बुधबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी भारतले खोप सहयोग गरेकोबारे औपचारिक जानकारी गराएको थियो।

भारतमा सिरम इन्स्टिच्युटको कोभिसिल्ड र भारत बायोटेकको कोभ्याक्स खोप भारतले नेपालका लागि अनुदानस्वरुप उपलब्ध गराएको हा े। भारतले उपलब्ध गराएको खोप दुई डोज लगाउनु पर्छ । पहिलो चरणमा ४ लाख मानिसलाई खोप दिइने स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाका प्रमुख झलक शर्मा गौतम बताउँछन । नेपाललाई प्राप्त खोपलाई टेकुस्थित केन्द्रीय खोप भण्डारणमा लगिने छ । टेकुमा भण्डारण गरिएको खोप स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा पठाइने छ ।

देशभरका जिल्ला अस्पतालबाट एकैसाथ खोप अभियान सुरु गर्ने योजना सरकारको छ । अहिले ल्याइएको उक्त खोप सुरुमा स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिएका व्यक्तिहरु, महिला स्वास्थ्य स्वयंसेविका तथा नगरपालिकाबाट खटाइए सफाइ कर्मचारीलाई दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसपछि जोखिमका आधारमा चरणवद्ध रुपमा खोप लगाइने छ।