काठमाण्डौँ : भारत सरकारले नेपाललाई अनुदानमा दिएको कोरोना खोप कोरोनाविरुद्धको खोप आज काठमाण्डौँ आइपुगेको छ । 

भारतले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप आज बिहान काठमाण्डौ पुगेको हो । नेपाल नागरिक उड्डुयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले कोरोना खोप लिएर आएको एअर इन्डियाको विमान बिहान ११ बजेर ५३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जानकारी दिएका छन् ।

भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो । अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिएको हो । उक्त खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।