कञ्चनपुर : सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आज (बिहीबार) देखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई भौतिक उपस्थितिमा कक्षा सञ्चालन भएका छन् । 

कोरोना महामारी जोखिमका कारण अनलाइनका माध्यमबाट पठनपाठन हुँदै आएकोमा शिक्षक तथा विद्यार्थी प्रत्यक्ष रूपमा उपस्थित भै कक्षा सञ्चालन गरिएको हो । विश्वविद्यालयले माघ ५ गतेको प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय लिएको थियो । सोहीअनुसार कक्षा सञ्चालन गरिएको मानविकी तथा समाजशास्त्र संकायका विभागीय प्रमुख हरिशचन्द्र भट्टले जानकारी दिएका छन् ।

उनका अनुसार स्नातक छैटौं र आठौं सेमेस्टरका लागि विहान १० बजेदेखि, स्नातक दोश्रो र चौथो सेमेस्टरका लागि बिहान ११ बजेदेखि र स्नातकोत्तर दोश्रो र चौथो सेमेस्टरका लागि दिउँसो ३ बजेदेखि कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

यसैगरी, व्यवस्थापन संकायका सम्पूर्ण कक्षाहरू समेत सञ्चालन गर्ने निर्णय गरिएको छ। बीबीए दोश्रो, चौथो, छैटौं,आठौं, बीबीएस दोश्रो वर्ष, तेश्रो वर्ष, एमबीएम दोश्रो सेमेस्टर चौथो सेमेस्टरका कक्षा सञ्चालन गर्न समय निर्धारण गरिएको छ ।विहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म फरक-फरक समयमा कक्षा सञ्चालन गर्ने गरी व्यवस्था गरिएको छ । शिक्षाशास्त्र  विभाग अन्तर्गतका स्नातक र स्नाकोत्तरका कक्षाहरू समेत विहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने भएका छन्‌।