महेन्द्रनगर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक (एसपी) उमा प्रसाद चतुर्वेदीले निर्मला हत्या प्रकरणमा बमदिदीबहिनि र ओपेरा होटेलको संलग्नतामा ग्रहण योग्य प्रमाण नभएको बताएका छन ।
मङ्गलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा संचारकर्मीहरु संगको परिचयात्मक कार्यक्रममा एसपी चतुर्वेदीले बमदिदीबहिनि ,ओपेरा होटेल र अन्य महत्वपूर्ण व्याक्तिहरुको संलग्नताको विषयमा ग्रहण योग्य प्रमाण नभएको बताए । “अहिलेसम्को अनुसन्धानले बमदिदीबहिनि ,ओपेरा होटेल र अन्य महत्वपूर्ण व्याक्तिहरुको संलग्नताको विषयमा ठोस प्रमाण भेटिएको छैन ।” उनले भने–“ धेरै पहिला अफवाह फैलाइयो ती कुराहरुको अनुसन्धान गर्दा कुनै सत्यता भेटिएन ।”
उनले निर्मला हत्या प्रकरणको टुङ्गो लाग्ने डेटलाईन तोक्न नसक्ने बताउँदै निर्मला पन्त हत्या प्रकरणलाई टुङ्गोमा पुगाउन आफुले ईमान्दार प्रयास गर्ने बताए । “निर्मला हत्या प्रकरण जिल्ला प्रहरी कार्यालयको पहिलो प्राथमिकतामा छ ।” उनले भने–“मेरो कार्याकाल अवधिमा यो घटनालाई टुङ्गोमा पुगाउने ईमान्दार प्रयास गर्ने छु ।”
निर्मला प्रकरणमा गृहमन्त्री वादलको छोराको संलग्नता बारे संचारकर्मीको प्रश्नमा उनले घटना बारे सुचना भए प्रहरीलाई सुचना दिएर राज्यलाई सहयोग गनुपर्ने बताउँदै चोक र्चौराहामा भन्दै हिड्नु गतल भएको बताए । “कुनै पनि प्रमाण विना व्याक्ति विशेषको चरित्रहत्या हुने गरी अभिव्यक्ती दिनु अपराध हो ।” उनले भने–“प्रमाण फेला परे कोहि छुट्नेवाला छैन कानुनभन्दा माथी कोही हुन सक्दैन ।”
त्यसैगरी उनले तस्करीजन्य गतिविधिलाई पूर्ण रुपमा निस्तेज गर्ने बताए । खुला सीमाको दुरुपयोग गर्दै जिल्लामा हुने तस्करी नियन्त्रण र जिल्लाको शान्ति, सुरक्षालाई व्यवस्थित गर्ने बताए । एसपी चतुर्वेदी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)बाट सरुवा भएर केही दिन अगाडि मात्रै कञ्चनपुर पुगेका हुन ।