काठमाण्डौँ : नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिएका २९ जनाको मृत्यु भएको छ ।

फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप लगाएका २९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सबै ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरु छन् । उनीहरु सबैलाई कोरोना खोपको पहिलो डोज दिइएको थियो । मृत्यु हुने सबैमा गम्भीर स्वास्थ्य समस्या पहिला नै थियो । उनीहरुमध्ये धेरैलाई हार्ट फेलियर, डिमेन्सिया लगायत दीर्घरोग थियो ।

नर्वेमा अहिलेसम्म ४२ हजार मानिसले कोरोना खोपको पहिलो डोज लिइसकेका छन् । नर्वेले कोरोनाबाट सबैभन्दा बढी जोखिममा रहेका मानिसहरुलाई पहिलो चरणमा कोरोना खोप दिइरहेको छ । नर्वे मेडिसिन एजेन्सीले शनिवार ब्लूमबर्ग पत्रिकालाई लिखित जवाफ दिँदै शुक्रवारसम्म फाइजर र बायोएनटेक एसईले बनाएको खोप मात्र दिइएको र खोपकै कारण मृत्यु भएको बताएको छ । 

नर्वेजियन मेडिसिन एजेन्सीले अहिलेसम्म नर्वेमा फाइजरको कोरोना खोप मात्र लगाइएकाले २९ जनाकै मृत्यु फाइजरको कोरोना खोपसँग सम्बन्धित रहेको बताएको छ । नर्वेमा कोरोना खोप लगाएका मानिसहरुलाई पखाला, बान्ता र श्वासप्रश्वासमा समस्या, खोकीलगायतका साइडइफेक्ट पनि देखिएका छन् ।

फाइजरको कोरोना खोप परीक्षणको क्रममा पनि ८५ वर्षभन्दा बढी उमेरका मानिसहरुलाई समावेश गरिएको थिएन । त्यसैले ज्येष्ठ नागरिकहरुलाई यो खोप दिँदा समस्या उत्पन्न हुन सक्ने केहीको भनाइ छ । नर्वेमा गत जनवरी १ देखि कोरोना खोप कार्यक्रम सुरु भएको हो ।