विलमिङटन : अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले बिहीबार आर्थिक समस्यासँग जुधिरहेको अमेरिकी अर्थतन्त्रलाई माथि उकास्न १९ खर्ब अमेरिकी डलरको महत्वाकाँक्षी राहत प्याकेज घोषणा गरेका छन् ।

राष्ट्रपति–निर्वाचित बाइडेनले आगामी बुधबार सपथ लिएसँगै उक्त राहत योजनालाई कार्यान्वयनमा ल्याउन पहल शुरु गर्नु हुनेछ । बाइडेनले अमेरिकाको छवि सुधार्न “नयाँ अध्याय” प्रारम्भ गर्न चाहेको बताउँदै आएका छन् । अमेरिकी उद्धार योजना नाम दिइएको बाइडेनको आर्थिक प्याकेजमा विश्वकै सर्वाधिक ठूलो अर्थतन्त्रलाई पुनर्जीवन दिने लक्ष्य राखेर अनेक उपायहरु अघि सारिएका छन् । तीमध्ये न्यूनतम ज्याला प्रतिघण्टा १५ डलर पुर्याउने महत्वाकाँक्षी योजना पनि समावेश छ ।

साथै संघर्षरत राज्यहरु र स्थानीय सरकारहरुलाई आर्थिक सहायता दिने, विद्यालयहरु सुरक्षित तवरले खोल्ने, कोभिड–१९ खोप लगाउने कार्यलाई व्यापक बनाउने, बेरोजगार भत्ता कार्यक्रमलाई थप गर्ने तथा गत महिना कङ्ग्रेसले पारित गरेको तर सिनेटले रोकेको प्रति परिवार २००० अमेरिकी डलर दिने योजनालाई स्वीकृति गर्ने रहेका छन् । बाइडेनले आफ्नो कार्यकालको पहिलो १०० दिन १०० मिलियन (१० करोड) लाई खोप दिने अभियान सार्वजनिक गरिसकेका छन् ।