कञ्चनपुर : सुदुरपश्चिम नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड हो माघी । थारू समुदायले नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर आएका छन् । कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङका थारू समुदायले माघीलाई  सबैभन्दा ठूलो पर्वका रूपमा मनाउँदै आएका छन् । 

सूर्य उत्तरायण प्रवेश गर्ने दिन आज थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ । यस पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यस पर्व मनाइन्छ । माघीपर्वमा थारू समुदायका मानीसरुले नजिकैको खोलानालामा नुहाउन जाने , पूजापाठ गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा रहेको पाइन्छ । बेलुका घरमा आगोको धुनी बालेर धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन कार्यक्रम गर्छन् ।