काठमाण्डौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधवकुमार नेपाल पक्षधर विद्यार्थी संगठन अनेरास्ववियुले केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस सुझाएको छ । बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षीय विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध संविधान वाचन कार्यक्रम गर्दै प्रधानमन्त्री ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस जान सुझाएको हो ।

कार्यक्रममा बोल्दै अनेरास्ववियूका सह– संयोजक रञ्जित तामाङले प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थ र कुर्सीको लागि गैरसंवैधानिक कदम चालेको बताए । संविधानको सही व्याख्या भएन र सर्वोच्च अदालतले न्याय दिएन भने विद्यार्थीहरुले न्यायाधीशहरुलाई बाटो छेकेर संविधानको कुन धारा अनुसार प्रधानमन्त्रीको कदम संवैधानिक हो भन्ने प्रश्न गर्नुपर्ने उनको भनाइ छ ।

अनेरास्ववियूले प्रतिनिधि सभा विघटनको विरुद्धमा निरन्तर रुपमा गरेका विरोधका कार्यक्रम असंवैधानिक कदम नसच्चिएसम्म जारी रहने अनेरास्ववियूले जनाएको छ ।