काठमाण्डौँ : कोरोनाविरूद्धको खोप खरिदका लागि सरकारले आर्थिक सहयोग माग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप खरिदका लागि रकम आवश्यक भएको भन्दै सूचना जारी गरेर आर्थिक सहयोग माग गरेको हो ।

मन्त्रिपरिषद्को कात्तिक २४ गतेको निर्णयअनुसार नेपाल सरकारबाट आकस्मिक प्रयोगको लागि स्वीकृति प्राप्त भएको खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरूलाई निःशुल्क खोप उपलब्ध गराउन ठुलो रकम आवश्यक भएको भन्दै आर्थिक सहयोग माग गरेको सूचनामा उल्लेख छ । 

मन्त्रालयले रकम संकलन गर्न टेकुस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको खाता नम्बर १७००१००१०२०६०००० सार्वजनिक गरेको छ । सहयोगको लागि मन्त्रालयले दातृ निकाय, विदेशी, विभिन्न व्यावसायिक एवं सामाजिक र परोपकारी संस्था एवं फिल्यान्थ्रोपिक एसोसियसनलाई आह्वान गरेको छ ।