कञ्चनपुर : कञ्चनपुर प्रहरीले  प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित कञ्चनपुरका तीनजनालाई मंगलबार पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विशेष सूचनाका आधारमा भीमदत्त नगरपालिका-१८ बाट एक र बेदकोट नगरपालिका-९ बाट दुई जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बैतडी दशरथ नगरपालिका-४ घर भई हाल भीमदत्त नगरपालिका-१८ का २५ वर्षीय नरेश दमाईलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका दमाईको साथबाट १४ ग्राम ४२० मिलीग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

यसैगरी बेदकोट नगरपालिका-९ का ३० वर्षीय भीमबहादुर विष्ट र २७ वर्षीय हिक्मत विष्टलाई लालपुरबाट तीन ग्राम २४० मिलीग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।