काठमाण्डौँ : कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । ११ कक्षामा पुरानै पाठ्यक्रम पढाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको हो । 

आज मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले रिट निवेदनबमोजिम पुरानो पाठ्यक्रम लागू नगर्न आदेश दिएको छ । भगवता अर्याललगायतले गत असोज २८ गते पाठ्यक्रम विकास केन्द्रलाई विपक्षी बनाई  सो रिट दर्ता गराएका थिए । पटक–पटक पेसी सर्दै आएको रिटमा बल्ल अदालतले आज आदेश दिएको हो ।