काठमाण्डौँ : नेकपाका प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा र सूर्य चिन्ह आफुहरुकै हुने दावी गरेका छन् । मंगलबार कास्कीको पोखरामा भएको बृहत प्रशिक्षण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दावी गरेका हुन् । ‘नेकपा हाम्रै हुन्छ, सूर्य हाम्रै हुन्छ लेखेर राख्नुस् । भएन भने आँधीहुरी चल्छ’ प्रचण्डले सम्बोधनका क्रममा कार्यकर्ताहरुलाई भने, ‘यसमा तपाइहरु ढुक्क हुनुस् नेकपा र सूर्य चिन्ह हाम्रै हुन्छ ।’

उनले सोमबार मात्रै आफुसहित नेकपाका नेताहरु आयोग पुगेर त्यहाँका पदाधिकारीहरुसँग भएको कुराकानीबाट पनि र संविधान र विधानअनुसार पनि नेकपा र सूर्य चिन्ह आफुहरुकै हुनेमा विश्वस्त रहेको बताए । प्रचण्डले जताततै अल्पमतमा परेका ओलीले केन्द्रीय समिति विस्तार गरेको नाटक गरेको भन्दै विचार र सिद्धान्त नै त्याग्दै मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जवज) पनि छाडिसकेको बताए ।