काठमाण्डौँ : काठमाण्डौँको नागढुङ्गाबाट स्रोत नखुलेको ३७ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । 

प्रहरीले चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट स्रोत नखुलेको ३७ लाख रुपैयाँसहित सोमबार बिहान एक जनालाई पक्राउ गरेको हो । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ९१३९ नम्बरको हाइस गाडी चेकजाँच गर्ने क्रममा उनले बोकेको झोलाबाट स्रोत नखुलेको नगद ३७ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।चितवन माडी नगरपालिका-६ बस्ने २६ वर्षीय रामकुमार गुरूङलाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको छ । उनीबाट ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आइएमई बैंकको चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको अर्को चेक पनि बरामद भएको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले गाडीमा सवार उनको झोला जाँच गरेको थियो । त्यसैक्रममा लुकाएर ल्याइएको नगद र चेक फेला परेको प्रहरीले जनाएको छ ।