काठमाण्डौँ : संसद विघटनको विरोधमा आन्दोलनरत प्रचण्ड–माधव नेपाल समूह निकट अनेरास्ववियूले आज बयलगाढासहित प्रदर्शन गरेको छ ।

थापाथली इन्जिनियरिङ क्याम्पसमा भेला भएर विद्यार्थीहरुले बयलगाढासहित प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाए । प्रदर्शनमा अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङ लगायत सहभागी थिए ।

जनआन्दोलनका बेला ओलीले ‘गणतन्त्र आउनु र बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो’ भनेका थिए । सोही अभिव्यक्तिको व्याङ्ग्य गर्न अनेरास्ववियूले आइतबार राजधानीसहित देशका विभिन्न स्थानमा बयलगाडा प्रदर्शन गरेको हो । थापाथली क्याम्पस परिसरबाट बयलगाढासहित विद्यार्थीहरु सडकमा आउनासाथ प्रहरीले उनीहरुलाई तितरबितर पारेको थियो । संसद विघटनको विरोध गर्दै प्रचण्ड–माधव समूह निकट अनेरास्ववियू हाल दोस्रो चरणको आन्दोलनमा छ ।