काठमाण्डौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको बैठकमा आफ्ना पूर्वसहकर्मी पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गर्न समय खर्चिएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले आफूले सिंह बनाइदिएको मान्छेले पछि आफैलाई खान खोजेको भन्दै टिप्पणी गरे । 

उनले भने, ‘निर्वाचनबाट बहुमत लिएर आएको प्रधानमन्त्रीलाई प्रधानमन्त्री हट्नुपर्छ कि हट्नुपर्छ भनियो । मैले नै दिएका अवसरहरुको दुरुपयोग गरियो । आफूले सिंह बनाइदिइयो आफैलाई झम्टिने अवस्था आयो ।’

संविधानले ५ वर्षमा निर्वाचन गर्ने कुरालाई मात्र स्थिरता नभनेको बताउँदै सरकार बन्न सकेन भने तत्काल चुनावमा जाने संविधानले व्यवस्था गरेको उनले जिकिर गरे । उनले बाह्य शक्तिको गोटी बनेर राष्ट्रिय राजनीतिलाई अस्थिरता तर्फ धकेल्न थालिन्छ भने  निरिहताको अवस्था आउने दावी गरे । यद्यपी उनले अहिले कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन नसकेकाले अस्थिरताको स्थिति नभएको तर्क गरे ।  देशमा अस्थीरता फैलाउने साझा प्रयासलाई प्रतिनिधि सभा विघटन गरेर रोकिएको उनको दावी छ ।