काठमाण्डौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी नक्सामा मात्र नभई व्यवहारतः कायम गरिने बताएका छन् ।

राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मित्रतापूर्ण र तथ्यका आधारमा आफ्नो भूमि फिर्ता ल्याइछाड्ने बताए । ‘हामी नक्सामात्र होइन, व्यवहारमा पनि भूमि कायम गरेर छोड्छौं,’ उनले भने,‘ भारतसँग साँचो अर्थमा मित्रता बढाउन चाहन्छु । नयाँ उचाइमा पुर्याउन चाहन्छु ।’

उनले असमानताका आधारमा होइन, समाधानताका आधारमा सम्बन्ध अघि बढ्ने बताए । ‘हाम्रो भूभाग हडपिएको छ भने सम्बन्ध राम्रो छ भनेर हुँदैन । त्यस्तो समस्या जहाँ छ त्यहीनेर मित्र राष्ट्रसँग खुलस्त कुरा गर्न सक्नुहुन्छ। न्यायोचित हुनुपर्छ भन्ने हो। त्यस कारण छलफल हुन्छ।’ उनले आफूले बढी बोलेर सम्बन्ध बिगार्यो भनेर आरोप लगाइएको बताए । ‘सुमधुर सम्बन्ध राख्नुपर्छ भनेर चुप लागेर बस्न सकिन्न,’ प्रधानमन्त्री ओलीले भने ।